वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा द्वादशी - २७
१. प्रशासन शाखा यस शाखाले कार्यालयको समग्र आन्तरिक व्यवस्थापन, नीतिगत समन्वय र कर्मचारीको क्षमता विकाससम्बन्धी कार्यहरू गर्दछ:
आर्थिक प्रशासन सञ्चालन र नीतिगत मार्गदर्शन: प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको पूर्ण रूपमा पालना गराउन मातहतका कार्यालयहरूलाई आवश्यक नीतिगत मार्गदर्शन, परिपत्र र निर्देशन जारी गर्ने।
क्षमता अभिवृद्धि तथा समस्या निरूपण: प्रदेशअन्तर्गत कार्यरत लेखा उत्तरदायी अधिकृत तथा आर्थिक प्रशासनमा कार्यरत कर्मचारीहरूको व्यावसायिक क्षमता विकासका लागि तालिम सञ्चालन गर्ने र कार्यसम्पादनमा आइपर्ने प्राविधिक, नीतिगत तथा कानुनी द्विविधाहरूको निरूपण गर्ने।
२. कोष प्रशासन तथा बजेट कार्यान्वयन शाखा यस शाखाले कोष सञ्चालन, बजेट निकासा, भुक्तानी व्यवस्थापन र समग्र वित्तीय विवरण तयारीको मुख्य जिम्मेवारी सम्हाल्छ:
सञ्चित कोष तथा अन्य कोषको सञ्चालन: एकल कोष खाता प्रणाली (TSA) मार्फत प्रदेश सञ्चित कोष, धरौटी कोष, आकस्मिक कोष र अन्य सरकारी कोषहरूको पारदर्शी, सुरक्षित र प्रभावकारी सञ्चालन गर्ने।
बजेट निकासा र विद्युतीय भुक्तानी व्यवस्थापन: विद्युतीय भुक्तानी प्रणाली (EFT) को प्रयोग गरी प्रदेश मन्त्रालय र अन्तर्गतका निकायहरूलाई स्वीकृत वार्षिक कार्यक्रम र विनियोजनको आधारमा छिटो, छरितो र पारदर्शी रूपमा बजेट निकासा तथा सोझै खातामा भुक्तानी (Direct Payment) को व्यवस्था मिलाउने।
नगद प्रवाह तथा स्रोत परिचालन: वित्तीय तरलता (Liquidity) को निरन्तर विश्लेषण गरी प्रदेशलाई प्राप्त हुने सङ्घीय अनुदान, राजस्व बाँडफाँट, आन्तरिक ऋण र प्रदेशको आन्तरिक स्रोतको उच्चतम र कुशल परिचालन गर्ने।
एकीकृत वित्तीय विवरण तयारी: नेपाल सार्वजनिक क्षेत्र लेखामान (NPSAS) को ढाँचा र मापदण्ड अनुरूप प्रदेश सरकारको विनियोजन, राजस्व र धरौटीको मासिक, चौमासिक र वार्षिक एकीकृत वित्तीय विवरण (Consolidated Financial Statements) तयार गर्ने।
बैंक हिसाब मिलान (Bank Reconciliation): राजस्व खाता, खर्च (विनियोजन) खाता र धरौटी खाताको बैंक मौज्दात र कार्यालयको स्रेस्ताबीच नियमित रूपमा हिसाब मिलान गर्ने/गराउने र यथार्थ अवस्था पहिचान गर्ने।
३. लेखा परिक्षण तथा अनुगमन शाखा यस शाखाले वित्तीय सुशासन कायम गर्न लेखापरीक्षण, जोखिम नियन्त्रण र अनुगमनको कार्य गर्दछ:
जोखिममा आधारित आन्तरिक लेखापरीक्षण: प्रदेश सरकार मातहतका निकायहरूको आर्थिक कारोबारको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा नियमित आन्तरिक लेखापरीक्षण सम्पादन गर्ने तथा गराउने।
आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरण: सम्भावित वित्तीय जोखिम, चुहावट र हिनामिना रोक्न कार्यालयहरूको आन्तरिक नियन्त्रण प्रणालीको सूक्ष्म मूल्याङ्कन गरी सुधारात्मक उपायहरू र रणनीतिक पृष्ठपोषण सिफारिस गर्ने।
बेरुजु फर्स्योट तथा अन्तिम लेखापरीक्षण सहजीकरण: आन्तरिक लेखापरीक्षणबाट औंल्याइएका त्रुटिहरू तत्काल सुधार गर्न लगाउने, बेरुजु फर्स्योट प्रक्रियामा निकायहरूलाई प्राविधिक सहजीकरण गर्ने र महालेखापरीक्षकबाट हुने अन्तिम लेखापरीक्षणमा समन्वयकारी भूमिका निर्वाह गर्ने।
राजस्व सङ्कलन प्रणालीको अनुगमन: संकलित राजस्व तोकिएको सरकारी बैंक खातामा यकिन रूपमा दाखिला भए/नभएको नियमित अनुगमन गर्ने।
४. सूचना प्रविधि तथा तथ्यांक शाखा यस शाखाले विद्युतीय प्रणालीको सञ्चालन, डाटा व्यवस्थापन र तथ्याङ्क विश्लेषणको प्राविधिक कार्य गर्दछ:
प्रणालीगत र यथार्थपरक लेखाङ्कन: कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली (CGAS) र अन्य विद्युतीय प्रणालीको प्रयोग गरी सम्पूर्ण आर्थिक कारोबारको वास्तविक समयमा (Real-time) अद्यावधिक र भरपर्दो लेखाङ्कन गर्न प्राविधिक सहजीकरण गर्ने/गराउने।
विद्युतीय प्रणालीहरूको प्रवर्द्धन र एकरूपता: स्वीकृत लेखा ढाँचा, आर्थिक सङ्केत तथा वर्गीकरणसहित CGAS, RMIS जस्ता विद्युतीय प्रणालीहरूको सम्पूर्ण निकायहरूमा अनिवार्य र एकरूपताका साथ कार्यान्वयन गराउने।
वित्तीय तथ्याङ्क विश्लेषण र प्रतिवेदन प्रस्तुति: तयार गरिएको प्रादेशिक वित्तीय विवरण तोकिएको समयसीमाभित्र महालेखा नियन्त्रक कार्यालय, महालेखापरीक्षकको कार्यालय र प्रदेश अर्थ मन्त्रालयमा पेस गर्ने तथा सरोकारवालाको जानकारीका लागि वित्तीय तथ्याङ्कहरूको सार्वजनिकीकरण गर्ने।
विस्तृत अभिलेखीकरण र लक्ष्य-प्रगति विश्लेषण: राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) लगायतका विद्युतीय प्रणालीमार्फत सङ्घीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम र प्रदेशको आन्तरिक राजस्व संकलनको लक्ष्य र यथार्थ प्रगतिको अद्यावधिक अभिलेख राख्ने र सोको विश्लेषणात्मक प्रतिवेदन तयार गर्ने।